काठमाण्डौ, २ साउन– फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अब आफू युरोपियन फुटबलमा फर्कने सम्भावना नभएको बताएका छन । इएसपीएनसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनलेल अब आफू साउदी प्रो लिगलाई विश्वको उत्कृष्ट प्रतिस्पर्धा बनाउन प्रतिबद्ध रहेको बताएका छन । उनले भने, ‘म ३८ वर्षको भइसकेँ ।
मलाई पूर्ण विश्वास छ कि म अब कुनैपनि युरोपियन क्लबमा आवद्ध हुन्न’। रोनाल्डोले युरोपेली लिगहरुले राम्रा खेलाडी गुमाउँदै गएको पनि बताएका छन ।
उनले भने, ‘ युरोपियन फुटबलले धेरै राम्रा खेलाडी गुमाएको छ । हालसम्म पनि राम्रो प्रदर्शन गरिरहेको र आकर्षक रहेको भनेको प्रिमियर लिग मात्रै हो । यो अन्य लिगभन्दा धेरै राम्रो छ’ ।
उनले अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको इन्टर मियामीमा आवद्धताबारे पनि टिप्पणी गरेका छन् । साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भएपनि मेसीले व्यवसायिक फुटबलका लागि भने अमेरिका रोजे ।
अल हिलालको प्रस्तावलाई छाडेर ३६ वर्षे अर्जेन्टिनी कप्तान इन्टर मियामीमा आवद्ध भएका थिए । रोनाल्डोले इन्टर मियामी भन्दा साउदी क्लब उत्कृष्ट भएको पनि बताएका छन । उनले भने, ‘साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ ।
मैले साउदीका लागि बाटो खोलेँ, अहिले धेरै खेलाडी आइरहेका छन् । एक वर्षपछि अझै आउनेछन्’ । साउदी क्लबहरुले अहिले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गरिरहेका छन् ।
रोनाल्डो जनवरीमा अल नासर आबद्ध भएका थिए । बालोन डि ओर विजेता करिम बेन्जेमा पनि गत जुन महिनामा अल इत्तिहादमा आबद्ध भएका छन् ।
