काठमाण्डौ, २ साउन– नेपालको ऋण प्रत्यक वर्ष बढ्दै क्रममा रहेको छ । आर्थिक वर्ष २०७९र८० मा मात्रै २ खर्बभन्दा बढी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५५ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ उठायो । सोही वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज पनि तिरेको छ ।
अघिल्लो वर्षसम्म आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । योसँगै सरकारको आन्तरिक ऋण ११ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले यो पटक बाह्य ऋण करिब १ खर्ब लिएको छ ।
यद्यपि, विश्व बैंकअन्तर्गतका परियोजनाको प्राप्तिको अन्तिम रिपोर्ट भने आउन बाँकी रहेको छ । अघिल्लो वर्ष सरकारले बाह्य ऋणको ४३ अर्ब १ करोड ६८ लाख रुपैयाँ साँवा ब्याज भुक्तानी गरेको आन्तरिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मालेले जानकारी दिएका छन ।
जसमा साँवा ३४ अर्ब ६१ करोड ७९ लाख र ब्याज ८ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको उनले बताएका छन । आर्थिक वर्ष २०७८र७९ सम्म नेपालको बाह्य ऋण १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । जसको ४३ अर्ब साँवा ब्याज भुक्तानी गरेको हो ।
अब नेपालको बाह्य ऋण १० खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक छ । यो पटक नेपालको बाह्यभन्दा आन्तरिक ऋणको हिस्सा बढेको छ ।
नेपालमा प्रायःजसो आन्तरिकभन्दा बाह्य ऋणको ग्राफ उकालो लागे पनि यस पटक बाह्यलाई आन्तरिक ऋणले उछिनेको हो । सरकारले ऋण लिँदा कुन सस्तो पर्छ भनेर हेर्नेगर्छ ।
तर, यस पटक सरकारले महँगोमै भए पनि ऋण लिनुपरेको कार्यालय प्रमुख शर्माले बताए । वि स २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणमा बाह्य ऋणको ग्राफ बढेको थियो ।
आ.व २०७६र७७ देखि २०७८र७९ सम्ममा कोभिड १९ को महामारीको कारण आन्तरिक र बाह्य ऋण बढेको कार्यालयले जानकारी दिएको छ ।
