काठमाण्डौ, १ साउन– ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन ।
उनले एक ट्वीटको जवाफ दिने क्रममा विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताएका छन । उनले भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’
उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् । टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन ।
उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरीसकेका छन ।
उनले सुधारको नाममा गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् । यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ ।
असन्तुष्ट ट्वीटर प्रयोगकर्ताहरु थ्रेड्समा आकषिर्त भएका बेला मस्कले भने त्यसविरुद्ध कानुनी कारबाही थाल्ने बताएका छन ।
