काठमाण्डौ, २९ असार– सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएको छ ।
कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपालको उत्कृष्ट इनिङ्स बावजुद ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।
सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष जारी रहेको थियो ।
सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भएको हो ।
नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाउन सफल भएका थिए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै दशौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा २६ रन बनाएका थिए । १५.४ ओभरमै नेपाल ७२९८ को नाजुक अवस्थामा पुगेको थियो ।
तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे । दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे ।
सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।
गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।
