आफूले पेश गरेको विधेयकको विषय नै थाहा नहुने मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ: सुवास नेम्बाङ

२९ असार २०८०, शुक्रबार १४:२०


काठमाण्डौ, २९ असार– प्रमुख प्रतिपक्षी दलका एमालेका उपनेता सुवास नेम्बाङले आफूले पेश गरेको विधेयकको विषय नै थाहा नहुने मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्नै बताएका छन ।

उनले विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई लज्जास्पद भएको बताएका छन ।

हिजो (बिहीबार) राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा पत्रकारसित कुरा गर्दै नेम्वाङले यस्तो बताएका हुन । उनले भने, ‘यो हामी सबैका लागि लज्जास्पद हो ।’

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदहरु विमला घिमिरे, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल तथा कांग्रेस सांसद जितेन्द्रनारायण देवले बिजुली व्यापारको कुरा गरेका थिए ।

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समेत बिजुली व्यापारकै कुरा गरे ।

नेम्बाङले सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेश गरेकै विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने बताएका छन ।

बैठकमा विधेयकको विषय भन्दा फरक विषयमा सांसदहरुले धारणा राखे पनि बैठकको अध्यक्षता गरिरहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै प्रतिक्रया जनाएका थिएनन् ।

उनले विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफल समाप्त भएपछि मात्र सांसद र मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।