काठमाण्डौ,२८ असार– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने दाबी गरेका छन ।
आज (बिहिबार) बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन ।
उनले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका छन । उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ ।
कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।’ उनले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरेका छन ।
उनले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने पनि बताएका छन । उनले एक लाख ३७ हजार कर्मचारीमध्ये सङ्घ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताएका छन ।
