काठमाण्डौ,२८ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।
आज (बिहीवार) बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन । उनले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।
उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताएका छन । उनले भने, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो ।
बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो’ कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ ।
हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ ।’ उनले काठमाण्डौं लगायत विभिन्न राजमार्गहरुमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताएका छन । त्यस्तै सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि बताएका छन ।
उनले भने, ‘राजधानी काठमाडौँ र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ ।
सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदैछ’ उनले भने, ‘सवारी चालक अनुमतिपत्र नविकरणको अवधि पाँच वर्षबाट बढाएर दश वर्ष बनाइएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ ।’
