संविधानमा लेखिए पनि स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन्: मन्त्री बस्नेत

२८ असार २०८०, बिहीबार १२:०८

काठमाण्डौ, २८ असार– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको दाबी गरेका छन ।

आज (बिहिबार) राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं ।

तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन,’ । उनले लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको पनि बताएका छन ।

उनले भने, ‘जुन–जुन ठाउँमा लगानी गरेको अलिकति रिजल्ट देखिएको छैन, त्यो ठाउँमा कटौती गरेर भए पनि आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालय, माननीयज्यूहरु सबैको साथ सहयोगको कारणले पनि हामी प्रभावकारी ढंगबाट अगाडि बढेका छौं । ’

उनले आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको बताएका छन ।