काठमाण्डौ,२७ असार– राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना नभएको पुष्टि भएको छ ।
यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण पीईएसले यस्तो पुष्टि गरेको हो ।
जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिएका छन ।
सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताएका छन ।
यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताएका छन ।
