काठमाण्डौ,२७ असार– जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत रहेका एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ ।
आफूले घटनाबारे जानकारी पाएसँगै छानबिन समिति बनाइएको मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले जानकारी दिएका छन ।
आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको जानकारी पाएसँगै छानबिनको लागि समिति गठन गरेको जानकारी दिएका छन ।
उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिराहा आएकाले आजै छानबिन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ।’
प्रहरी जवान अनु रायलाई हात पछाडि पारेर बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएसँगै यसमा मातहतका इन्सपेक्टर पनि मुछिएका छन् ।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लागेको छ । सामाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान रायले रुँदै बाँधिएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको सुनिन्छ ।
उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले सोधेको प्रश्नमा उनेले भनेका छन्, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु।’
भिडियो संवादमा रहेका भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्किहाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको सुनिन्छ।’
प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी यातना नदिनुस् बरु मारिदिनुस्’ भनेको समेत सुनिन्छ । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘
मुस्कान सहितको सेवा’ दिने प्रहरी आफैले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारको आलोचना भइरहेको छ ।
