पूर्वगृहमन्त्री खाँणलाई निलम्बन तयारीमा कांग्रेस

२७ असार २०८०, बुधबार ०८:५९

काठमाडौं, २७ असार – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने कांग्रसका केन्द्रीय सदस्यहरुले आवाज उठाउने तयारी गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण गत वैशाख २७ पक्राउ परेका थिए । उनलाई पक्राउ परेदेखि नै पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । पूर्वगृहमन्त्री खाँण गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहे पनि कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार बुधबार (आज) देखि सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने भएको छ। उनले भने, ‘बालकृष्ण खाँणको निलम्बनको विषयमा केन्द्रीय समिति बैठकमा मज्जाले छलफल हुन्छ । निलम्बनको विषयमा बोल्न नपाउने भन्ने हुन्न ।’

ती नेताले बालकृष्ण खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने बताए । उनले भने, ‘खाँणको निलम्बनबारे बैठकमा छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्छ तर छलफल हुन्छ, छलफलको एजेण्डाको बुँदामा उल्लेख नभए पनि समसामयिक विषय अन्तर्गत रहेर केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ ।