काठमाडौं, २६ असार – चर्चित अभिनेता पल शाहले आफूमाथि अझै बलात्कारीको आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार सफाइ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।
सोमबार राति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्,“मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?”
यस्तै अभिनेता शाहले प्रश्न गर्दै भनेका छन्, “अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा म बलात्कारी हुँु लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् । मलाई पल शाह बनाएको तपाईंहरूले हो । यस कारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौ ? कसरी बोलौँ ? कसरी खाऊँ ?कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?”
