ललिता निवास प्रकरण: सारडा ग्रुपका पाँच उद्योगी सम्पर्कविहीन

२५ असार २०८०, सोमबार १५:३२

काठमाण्डौ, २५ असार– काठमाण्डौँको बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन ।

सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका स्रोतले जानकारी दिएको छ ।

यस्तै सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा पनि सम्पर्कविहीन रहेको स्रोतले जानकारी दिएको छ । उनीहरु गत असार १५ गतेपछि सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ ।

उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको छ । उनीहरुले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा भने हाल सम्म खुलेको छैन ।

विराटनगरका एक उद्योगीले भने, ‘चार नम्बरपछि जग्गा किनेको कुरा मलाई पनि जानकारीमा आएको छ,’ ‘हामीले कन्ट्याक्ट गर्न खोज्दा पनि भइरहेको छैन । कहाँ हुनुहुन्छ थाहा छैन ।

कुनै पारिवारिक जमघटमा जानु भएको हो कि ? । नक्कली भुटानी शरणार्थी काण्डदेखि ललिता निवासकाण्डसम्म उच्च ओहोदाका मानिसहरु पक्राउ परेको देखेर उद्योगीहरु लुक्नु, भाग्नु सामान्य भएको उनले बताएका छन ।

सारडा परिवारको नेपालमा १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे ।

४० को दशकपछि उनीहरु विराटनगर र काठमाण्डौं छिरेका हुन् । संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् ।

माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाइ हुन् । राधेश्याम सारडालाई रमपम चाउचाउ उत्पादक कम्पनी एसियन थाइफुड्सको सबै आर्थिक कारोबार हेर्ने जिम्मा थियो ।

यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् ।