नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

२५ असार २०८०, सोमबार १२:४२

काठमाण्डौ, २५ असार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन ।

आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले नेपाली समाज कस्तो हुने भन्नेकुरामा अध्ययन आवश्यक रहेको बताएका छन । किरातीले नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ?

उनले नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक भएको पनि बताएका छन ।

उनले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताए । नेपाली समाजलाई समाजवादमा पु¥याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने उनले बताएका छन ।

उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शुरु भइसकेको बताएका छन ।

उनले भने, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पु¥याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो ।

त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ । आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुन्छ । नेपाली समाज, समाजवाद कस्तो हुने ?

नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै छ ।’