मेयर बालेनलाई दिए हर्क साम्पाङले साथ

२५ असार २०८०, सोमबार ०८:४३

काठमाडौं, २५ असार – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाहाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफूले साथ दिने बताएका छन् ।

भारतीय चलचित्र आदिपुरुष प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई अर्का धरानका मेयर साम्पाहाङले साथ दिने बताएका हुन् । (हिजो) आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको बताएका थिए ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका थिए । “आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।”

उक्त स्टाटस पछि मेयर साम्पाहाङले ‘नडराउनु’ भन्दै साथै आफू साथमा रहेको बताए । मेयर साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ लेखेका छन् ।