अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चाल्र्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो ।
बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी यूरोपेली मुलुक बेलायत पुग्ने वासिङ्टन स्रोतले बताएको छ ।
चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चाल्र्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।
ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् । एजेन्सी
