काठमाडौं, २४ असार – सभामुख देवराज घिमिरेको भूमिकाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रश्न उठाएको छ । रास्वपा सभापति रवि लामिछानेले सभामुखले सदनमा आफूहरुलाई विषय राख्न नै नदिएको गूनासो गरेका छन्।
सभापति लामिछानेले आइतबार संसद भवन परिसरमा पत्रकारहरुसँग भने, ‘सभामुखलाई अलिकति मैले भन्नै पर्ने हुन्छ । जब यो भन्दा अगाडि सदनको बैठक चलेको थियो । त्यतिखेर एमालेका सांसदले बोल्नुभयो । त्यसपछि सोझै सत्तापक्षमा लगेर राखिदिनुभयो।’
असार २० गतेको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले एकसाथ उठेर प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका थिए । नेताहरुका अनुसार बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा अभिव्यक्तिलाई लिएर प्रश्न उठाउने जानकारी गराएका थिए । त्यसका लागि एमालेबाट रघुजी पन्त, रास्वपाबाट सन्तोष परियार, राप्रपाबाट धवल शमशेर जबरालाई सभामुखले बोल्न दिने तय भएको थियो ।
सभामुखले एमालेका सांसद पन्तलाई बोल्न दिएपछि माओवादी केन्द्रका सांसद छिरिङ ल्हामु लामालाई बोल्न समय दिएका थिए । सांसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेका थिए। यस्तै सांसद लामाले प्रचण्डमाथि आरोप लगाइएको बताइन् र आफ्नो निर्वाचन क्षेत्रको विषयमा कुरा उठाइकी थिइन् ।
रास्वपाले यहीँनेर सभामुखको भूमिका गलत भएको भनी प्रश्न उठाएको हो । एमालेका सांसदले बोलेपछि बाँकी प्रतिपक्षी दलहरुलाई बोल्न समय नदिँदा एमाले सांसदले बोलेको विषय नै सबै प्रतिपक्षी दलहरुको हो भन्ने भाष्य स्थापित हुन गएको र यस खाले वातावरण बनाउन सभामुखले भूमिका खेलेको रास्वपाको टिप्पणी छ ।
‘एमालेका सांसदले बिचार राख्नुभयो । त्यसपछि सोझै सत्तापक्षमा लगेर राखिदिनुभयो र यस्तो भाष्य निर्माण गर्न खोजियो कि एमालेले बोलिसकेपछि सबै प्रतिपक्षको त्यही नै आवाज हो’ रास्वपा सभापति लामिछाने दोहोर्याउँछन्, ‘सभामुखले आ आफ्ना मुद्दाहरु प्रतिपक्षलाई राख्न दिने हो नि । तर, प्रमुख प्रतिपक्षले बोलिसकेपछि सोझै सत्तापक्षमा लगेर हामीलाई बोल्न दिइएन ।’
