कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमाथि भएन सुनुवाइ

२४ असार २०८०, आईतवार १५:४५

काठमाण्डौ, २४ असार– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आइतबार पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

कार्कीले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

त्यसैले मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि उनले परमादेश माग गरेका छन् ।