म्याग्दी, २२ असार – म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एसइई परीक्षामा उत्तीर्ण भएका छन्। वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि २०७९ को एसईई उत्तीर्ण भएका हुन् ।
२०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट रोका परीक्षामा सहभागी भएका थिए । उनले एसइई २.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्। विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छोडेका थिए। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए। उनी २०६९ सालमा घर फर्किएका थिए।
घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।
