कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा

२२ असार २०८०, शुक्रबार १७:०९

काठमाण्डौ, २२ असार– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च पुगेको छ ।

आज (शुक्रबार) एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको उनले बताएका छन ।

उनले भने, ‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’, उनले भने, ‘उत्प्रेषणको आदेशबाट बदरगरी पाऊँ भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्च रिट दायर गर्नु भएको हो।’

बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।

९३ सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद रहेका छन ।

सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन । सभामुख बाबुराम गौतमले भने आफूले राजनीतिक निकास दिनका लागि हस्ताक्षर गरेको बताएका छन ।