कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित छ: गृहमन्त्री श्रेष्ठ

२२ असार २०८०, शुक्रबार १२:०३

काठमाण्डौ, २२ असार– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको बताएका छन ।

उनले निजी निवासमा पत्रकारसित कुरा गर्दै यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप पनि लगाएका छन ।

उनले सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको पनि बताएका छन ।

त्यही अभियान स्वरुप आफूले गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले बताएका छन । उनले सुराकी खर्च गर्नै पर्ने भए पनि कहीँ न कहीँ क्रश चेक हुनु पर्ने बताएका छन ।

उनले भने, ‘देशमा राजनीतिक संस्कृति नै यस्तो छ कि कसैले सही काममा लागि गरे पनि त्यो सही काममै प्रयोग हुन्छ भन्ने विश्वास नै गर्न सकिँदैन ।’

उनले आन्तरिक सुशासनबिना समाजमा सुशासन स्थापित गर्छु भन्नु फगत कुरा मात्र रहेको भन्दै उनले आन्तरिक सुशासनलाई पहिलो जोड दिनु पर्ने बताएका छन ।