प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्योत राष्ट्रियसभा अवरुद्ध

२१ असार २०८०, बिहीबार १३:२२

काठमाण्डौ,२१ असार– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बिहिबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध गरेका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताएका छन ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको बताएका छन ।