काठमाण्डौ, २० असार– कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज बुधवार मध्यान्ह पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन ।
कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको हो । आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ ।
पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको पराजुलीले जानकारी दिएका छन ।
उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने पनि बताएका छन । कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।
