पाल्पामा जनसंख्या बढाउन दुईभन्दा बढी सन्तान जन्माउनेलाई गाउँपालिकाले पुरस्कार दिने

२० असार २०८०, बुधबार १३:२२

काठमाण्डौ, २० असार– पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाको–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

वडामा जनसंख्या कम भएकाले यस्तो योजना अघि सारिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिएको छ । वडामा जनसंख्या कमी भएका कारण खेतबारी बाँझै हुन थालेको उनले बताएका छन ।

पोखरेलले जनसंख्या वृद्धि भए मात्र मुलुकको विकास र समृति हुने बताएका छन । उनले भने, ‘खेतबारी बाँझै छ, विद्यमलयमा विद्यार्थी संख्या नपुगेर विद्यालयहरु आपसमा गाभ्नुपर्ने अवस्था छ, ‘जनसंख्या वृद्धि नगरी यी समस्याको समाधान हुने देखिएन ।

दुईभन्दा बढी सन्तान जन्माएर जन्मदर्ता गराउन आउनेलाई तत्काल पाँच हजार रुपैयाँ दिइने नीति वडासभाबाट पारित गरिएको उनले बताएका छन ।

आगामी आर्थिक वर्षमा उक्त शीर्षकमा ६० हजार रुपैयाँ छुट्याइएको पनि उनले बताएका छन ।