काठमाण्डौ, २० असार– एमाले महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्कै अपमानित गरेको उनले बताएका छन ।
महासचिव पोखरेलले यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने बताएका छन । उनले भने, ‘जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ,’ ।
यसबारे उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन ।
उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । ’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त शृङ्खलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।
प्रधानमन्त्रीको हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुङ्गो लगाउने निकाय प्रतिनिधि सभा नै हो ।
जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ ।’
