काठमाण्डौ, १९ असार– प्रमुख तीन राजनीतिक घटक बीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
आज (मंगलबार) सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको बैठकमा प्रमुख तिन राजनीतिक दल बिच यस्तो सहमति भएको हो ।
कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिएका छन ।
छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए । उनले दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत बताएका छन ।
बैठकमा दलका नेताहरुसँ भएको छलफलबारे सभामुख घिमिरेले सञ्चारकर्मीहरुलाई भने, ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ ‘तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’ संसदीय गतिविधिलाई सक्रिय बनाउने काम राजनीतिक दल र तिनका नेताहरुको भएको भन्दै सभामुख घिमिरेले यो आफ्नोमात्रै जिम्मेवारी नभएको बताएका छन ।
उनले भने, ‘यसलाई अविलम्ब टुंग्याइहाल्ने, तुरुन्तै गर्ने कुरा भएको छ ।’ दलहरुले सभापति चयन प्रक्रिया अघि बढाउन म्यान्डेट दिएका उनले बताएका छन ।
कानुनमन्त्री गुरुङका अनुसार संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुनेछ । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नेछन् । दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन भएको छैन् ।
