ललिता निवास प्रकरण: मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

१९ असार २०८०, मंगलवार १३:०७

काठमाण्डौ, १९ असार– केन्द्रीय अनुसन्धान व्यूरो सीआइबी ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वउ डा आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो ।

इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।