सत्ता गठबन्धनको बैठक बस्दै, कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुने

१८ असार २०८०, सोमबार १३:३०

काठमाण्डौ, १८ असार– आज सोमबार सत्ता गठबन्धन दलको बैठक बस्दैछ । आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको उनले बताएका छन ।

विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ ।

साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ । यसको टुंगो लगाउन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता छलफल जुट्न लागेको देखिन्छ ।