गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ: प्रधानमन्त्री प्रचण्ड

१८ असार २०८०, सोमबार १२:४०

काठमाण्डौ, १८ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन ।

आज (सोमबार) कोइरालाको एकसयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने,‘गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन ।

मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’ । उनले कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताएका छन ।

प्रचण्डले पहिलो पटकको भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, शङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताएका छन ।

उनले भने, ‘बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन’, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै ‘मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’

उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि बताएका छन ।