काठमाण्डौ, १८ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन ।
उनले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने दाबी गरेका छन । आज सोमबार गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’ विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका छन । उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ ।
त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’ उनले कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने बताएका छन ।
उनले यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि बताएका छन ।
जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’
