काठमाण्डौ, १७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आज आइतबार भएको खेलमा संयुक्त अबर इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाउन सफल भएको छ ।
यूएईलाई ठूलो योगफल तयार पार्नबाट रोक्न नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । यस्तै करण केसीले पनि तीन विकेट लिएका थिए ।
प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिएका थिए । सन्दीपले १० ओभर बलिङ गर्दै तीन मेडनसहित केवल २३ रन खर्चिएका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिए ।
प्रतिसले १० ओभरमा ३९, गुल्सनले ६ ओभरमा ३२ र दीपेन्द्रले पाँच ओभरमा एक मेडनसहित १४ रन खर्चिएका थिए । नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए ।
करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोल्न सकेको थिएन् । सन्दीपले यूएईको दोस्रो विकेट लिएका थिए ।
सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराएका थिए ।
आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो । स्पिरन सन्दीपले नै यूएईको तेस्रो विकेट लिएका थिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान रमिज सहजादलाई १० रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । रमिज आउट हुँदा यूएईले ८५ रन बनाएको थियो ।
यूएईको चौथो विकेट गुल्सन झाले लिएका थिए । उनले यूएईका कप्तान वृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका थिए ।
७५ बलमा चार चौका प्रहार गरेका अरविन्द आउट हुँदा यूएईले ९७ रन बनाएको थियो । करणले यूएईको पाँचौं विकेटका रुपमा रोहन मुस्तफालाई आउट गराएका थिए ।
३५ रन बनाएका रोहनलाई करणले अर्जुन साउदमार्फत क्याच गराएका हुन् । रोहनले ५६ बलको सामना गरी तीन चौका हिर्काएका थिए । रोहन आउट हुँदा यूएईले एक सय ५५ रन बनाएको थियो ।
यूएईको छैटौं विकेटका रुपमा बासिल हमिद पेभेलियन फर्किएका थिए । उनको विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले बासिललाई २९ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए ।
बासिल आउट हुँदा यूएईले एक सय ५९ रन बनाएको थियो ।यूएईका अली नासिर सातौं विकेटका रुपमा पेभेलियन फर्किएका थिए । चार रन बनाएका नासिर रनआउट भएका थिए । उनलाई कप्तान रोहित पौडेलले रनआउट गरेका हुन् ।
सातौं विकेट गुमाउँदासम्म यूएईले एक सय ६२ रन बनाएको छ । यूएईको आठौं विकेटका रुपमा सन्चित शर्मा आउट भएका थिए । उनको विकेट स्पिनर सन्दीपले लिएका थिए ।
सन्दीपले सन्चितलाई १२ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदमार्फत क्याच गराए । सन्चित आउट हुँदा यूएईले एक सय ७७ रन बनाएको थियो ।
नवौं विकेटका रुपमा यूएईका जुनैद सिद्धकी पेभेलियन फर्किएका थिए । खातासम्म खोल्न नसकेका जुनैदलाई नेपाली बलर प्रतिस जीसीले बोल्ड गरेका थिए । जुनैद आउट हुँदा यूएईले एक सय ७८ रन बनाएको थियो ।
अन्तिम विकेटका रुपमा यूएईका मुहम्मद जवादुल्लाह पेभेलियन फर्किएका थिए । उनी एक रनको ब्यक्तिगत स्कोरमा करण केसीको बलमा बोल्ड भएका थिए । यूएईले नेपाली बलरबाट अतिरिक्त रुपमा १३ रन पाएको थियो ।
