बालेनको निर्देशनमा नगरप्रहरी ललिता निवासको जग्गामा तारबार लगाउँदै

१७ असार २०८०, आईतवार १५:३५

काठमाण्डौ, १७ असार– काठमाण्डौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन ।

मेयर शाहको निर्देशनपछि आज आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी सुरु गरेको छ । बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन ।

बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो ।

वि. सं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको भने अदालतमा मुद्दा प्रक्रिया पनि जारी छ ।