काठमाण्डौ, १७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आज आइतबार जारी खेलमा खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को चौथो विकेट पनि लिएको छ ।
यूएईको चौथो विकेट गुल्सन झाले लिएका हुन् । उनले यूएईका कप्तान वृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका छन ।
७५ बलमा चार चौका प्रहार गरेका अरविन्द आउट हुँदा यूएईले ९७ रन बनाउन सफल भएको छ ।त्यसअघि स्पिरन सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिएका थिए ।
उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान रमिज सहजादलाई १० रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । रमिज आउट हुँदा यूएईले ८५ रन बनाएको थियो । त्यसअघि सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका थिए । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् ।
सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराएका थिए । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।
त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो ।
उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्ने छन । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा जारी छ ।
