काठमाण्डौ, १७ असार– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन ।
सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बतार्एका हुन ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँग पनि भेटवार्ता भएको थियो ।
वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा थप सहयोग बढाउन उपप्रधानमन्त्री श्रेष्ठले गरेको विशेष आग्रहमा सकारात्मक छलफल भएको उनले बताएका छन । उनले भने, ‘आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ, ।
उनले थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको पनि बताएका छन ।
चीन र नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआईं) परियोजनामा हस्ताक्षर भइसकेको र त्यसबाट लाभ लिन नेपालले गरेको तयारीबारेको चिनियाँ जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले बिआरआइ कार्यान्वयनको ढाँचा बन्दै गरेको र दुईपक्षीय छलफलबाट पूर्णता दिइने बताएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवरद्धन एवं संरक्षण गर्ने नीति लिएकोले नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे सम्बोधन मन्तव्य दिएका थिए । उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए ।
