देउवा पाँच–पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो : परराष्ट्रमन्त्री एनपी साउद

१७ असार २०८०, आईतवार १३:३६


काठमाण्डौ, १७ असार– परराष्ट्रमन्त्री एनपी साउदले पर्टी सभापति शेरबहादुर देउवा भाग्यले नभई योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन ।

कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् ।

उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन।’पाँच– पाँच पटक कुनै पनि मान्छेलाई लट्री नपर्ने उनले बताएका छन । उनले भने, ‘तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ?,’

उनको प्रश्न छ, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ नेतामा योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनले बताए । ‘किनभने यो पार्टी सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी हो। अन्तराष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौं।’

उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने भन्दै लोकतन्त्रमा सबैभन्दा भरपर्दो पार्टी कांग्रेस मात्र भएको बताएका छन ।

उनले भने, ‘नयाँ–नयाँ पार्टी आइरहेका छन् । सोसल मिडिया बाहेक उनीहरुको कतै संगठन छैन। उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन्। पार्टी पद्दतिमा विश्वाश गर्दैनन् । ’

उनले पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न नसक्ने बताएका छन । त्यही भएर नयाँ पार्टीहरु लगातार विवादमा परिराखेको उनले बताए । यस्तै वामपन्थीको चिन्तन उत्पादन नबढाइ वितरणमात्र बढाउने भएको मन्त्री साउदले बताएका छन ।