मुलुकलाई फिल्म छायांकन र निर्माणको हब बनाउन जरुरी छ: सञ्चारमन्त्री शर्मा

१७ असार २०८०, आईतवार १३:२५


काठमाण्डौ, १७ असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजानुपर्ने बताएकी छन ।

शनिबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।

उनले नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं ।

यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’ उनले विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको पनि बताएकी छन ।

उनले स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रलाई सहयोग गर्ने पनि बताएकी छन । उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ ।

दोस्रो कुरा– प्रतिस्पर्धा नै हो । हामीले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्छ ।’