काठमाण्डौ,१७ असार–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन पनि दिएका छन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने बताएका छन । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सीके राउत रुष्ट रहँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।
प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बताएका थिए । अन्तिममा खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए ।
जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी सुरु गरेको छ ।
यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने हुन्छ । तर, कतिपय संविधान विद्हरूले भने अर्को पटक विश्वासको मत लिन नपर्ने तर्क पनि गरेका छन् ।
