झापा, १६ असार – माछापालक किसानलाई गाउँपालिका कर्मचारीले ठगेपछि पालिकामा उजुरी परेको छ ।
झापाको कचनकवल गाउँपालिका कर्मचारीले माछापालक किसानलाई ठगेपछि माछापालक किसानले कर्मचारीले आफूहरुलाई ठगेको भन्दै पालिका अध्यक्षलाई उजुरी दिएका हुन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेको छ।
पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका हुन् ।
उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा ३ रुपैयाँ पर्ने भनिएको माछाको भुराका लागि साढे १ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो ।
कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९र८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो ।
