काठमाण्डौ, १५ असार– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन ।
विश्वासको मत लिने कार्कीको प्रस्तावमाथि हिजो (बिहिबार) प्रदेशसभामा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादी संसदीय दलका नेता राईले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन, पार्टी नै एकता गर्न चाहेको बताएका थिए ।
आज (शुक्रबार) जवाफ दिने क्रममा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले राईको नामै लिएर एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन ।
उनले भने, ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ ।’
उनले एमालेमा काम गर्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने पनि बताएका छन । त्यसमा अवरोध भए सँगै लड्ने भन्दै उनले भने, ‘एमालेमा कसैलाई काखापाखा गर्न सम्भव छैन ।’
