एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ: मुख्यमन्त्री कार्की

१५ असार २०८०, शुक्रबार १३:०२

विराटनगर, १५ असार – नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

हिजो (बिहीबार) प्रदेशसभामा विश्वासको मत लिने कार्कीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादी संसदीय दलका नेता राईले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन, पार्टी नै एकता गर्न चाहेको बताएका थिए ।

आज (शुक्रबार) मुख्यमन्त्री कार्कीले जवाफ दिने क्रममा नेता राईको नामै लिएर एमालेमा स्वागत गर्न तयार रहेको बताएका हुन्। उनले भने, ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ ।’

नेता राईको लागि एमालेमा काम गर्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने उनले बताए । त्यसमा अवरोध भए सँगै लड्ने भन्दै उनले भने, ‘एमालेमा कसैलाई काखापाखा गर्न सम्भव छैन ।’