विद्यालय परिसरभित्रै आएर विद्यार्थीलाई हातपात गर्ने अभिभावक पक्राउ

१४ असार २०८०, बिहीबार १३:३९


दार्चुला, १४ असाचर– दार्चुलामा एक विद्यालयमै पसेर विद्यार्थीलाई हातपात गर्ने एक जना अभिभावक पक्राउ परेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा अध्ययनरत १४ वर्षीय आसुतोष साउँदलाई कुटपिट गर्ने बैतडीको डिलासैनी गाउँपालिका–६ घर भएका हरिश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत लेकम गाउँपालिका–१ खेताली घर भएका साउँद र १३ वर्षीय राजीव गिरीबीच सामान्य विवाद भएर झगडा परेको थियो ।

झगडा हुँदा दुवैको कापी च्यातिएको थियो । पक्राउ परेकामा हरिश राजीवका बुबा हुन् । विद्यार्थीबीचको झगडामा गएर हरिश गिरीले साउँदलाई विद्यार्थीको बीचमा लखेट्दै कुटपिट गरेका थिए ।

‘कक्षा ८ मा अध्ययनरत विद्यार्थीबीच खेल्ने बेलामा झगडा भएको रहेछ,’ विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले भने, ‘तर गिरीका बुबा हरिश विद्यालयमै आएर कुटपिट गरेको जानकारी पाइयो ।’ आफू सो दिन विद्यालयमा नभएको समयमा घटना भएको उनले बताए । उनले भने, ‘शिक्षक साथीहरू पनि माथितिर रहेछन् । झगडाको विषयमा अभिभावकले शिक्षकलाई जानकारी गराउनुपर्नेमा आफैँ कुटपिट गरेको देखियो,’उनले भने । सामान्य विषयमा अभिभावकले हात हाल्न नहुने उनको भनाइ छ ।

विद्यालयपारि कुमाली पुल नजिक गिरीको पसल छ । विद्यालयमा हाफ छुट्टी भएको वेला विद्यार्थीबीच सामान्य झगडा भएको थियो । खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिश आएर साउँदमाथि विद्यालय परिसरभित्रै आएर कुटपिट गरेका हुन् । साउँदमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको छ ।