काठमाण्डौ, १३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने एमालेले बताएको छ । आज बुधबार बसेको प्रदेशसभाको बैठकमा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची रहेको थियो ।
तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले समय लिएर बोल्दै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति बाँडे जसरी बजेट बाँडेको आरोप लगाएका थिए ।
उनले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने बताएका छन । त्यसपछि सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि बैठक पुन सुरु नै हुन नसकेपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।
