कास्की क्षेत्रका नदी तथा खानीजन्य पदार्थको उत्खनन तीन महिनाको लागि बन्द

१३ असार २०८०, बुधबार १०:०२

पोखरा, १३ असार – कास्की क्षेत्रका नदी तथा खानीजन्य पदार्थको उत्खनन वर्षायामको समयमा तीन महिनाको लागि बन्द गर्ने भएको छ । असार, साउन र भदौ महिना नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने मंगलबार अनुगमन समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षमा बसेको बैठकले निर्णय गरेको हो ।

अध्यक्ष पौडेलले अनुगमन समितिले सङ्घीय मापदण्डअनुसार नै नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गरेको बताए । उनका अनुसार निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय कास्की र सबै स्थानीय तहलाई पत्राचार गरिनेछ । सङ्घीय मापदण्ड पहिलो संशोधन २०७९ को दफा ४ को उपदफा १६ मा असारदेखि भदौ मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने व्यवस्था बमोजिम बैठकले निर्णय गरेको हो ।

कास्कीका पालिकालाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सोको जानकारी ७ दिनभित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ । निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । उनका अनुसार कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड विपरीत उत्खनन जारी छ ।