काठमाण्डौ, ११ असार– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै लैजाने बताएका छन् । निजी क्षेत्रका कतिपय अस्पतालहरुले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि मन्त्री बस्नेतले बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भइरहेको समेत बताएका छन् ।
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि बताएका छन् ।
