सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने

११ असार २०८०, सोमबार १६:२९

काठमाण्डौ,११ असार– काठमाण्डौं महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको छ ।

आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधानको व्यवस्था गरेको हो । महानगरपालिकाले भवन निर्माण गर्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताएको छ ।

निर्माण सामाग्री व्यवस्थापन गर्न अन्य विकल्प नभएमा भवनको भुँई तल्लासम्म निर्माण गर्न आवश्यक पर्ने निमार्ण सामग्री सार्वजनिक आवागमनमा असर नगर्ने गरी राख्नका लागि सम्वन्धित वडा कार्यालयवाट अग्रीम लिखित स्वीकृति लिनुपर्ने महानगरले जनाएको छ ।

वडा कार्यालयवाट प्रदान गरिएको समयसीमा भित्र निर्माण सामग्री उठाई नलगेमा सम्बन्धित घरधनीलाई वडा कार्यालयले दैनिक ५ हजारका दरले जरिवाना गरी त्यस्ता सामान समेत जफत गर्ने आर्थिक ऐनमा बताइएको छ ।