न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा

११ असार २०८०, सोमबार १४:५१

काठमाण्डौ,११ असार– अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै पदबाट राजीनामा दिएको बताएका छन ।

न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका सर्वोच्च अदालत श्रोतले जानकारी दिएको छ ।

भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए ।

तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उनी मातहत बसेर काम गर्न नैतिक संकट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन् ।

न्यायाधीश भट्टराईले सोमबारबाटै लागू हुने गरी राजीनामा दिएका हुन । यसअघि १० असारमा न्यायाधीश भट्टराई बिदामा बसेका थिए ।

भट्टराईको राजीनामा प्रधानन्यायाधीश कार्कीले आवश्यक कार्यार्थका लागि लेखी पठाएका छन् । यसअघि न्यायाधीश भट्टराईविरुद्ध न्याय परिषद्मा पनि उजुरी परेको थियो ।

कास्की जिल्ला अदालत र काठमाण्डौँ जिल्ला अदालतमा रहँदा फैसलामा कैफियत गरेको भन्दै उनीविरुद्ध परिषद्मा उजुरी परेको थियो ।

भट्टराईले कास्की जिल्ला अदालतमा रहँदा लागूऔषध मुद्दाका प्रतिवादीलाई ६ महिना कैद गरी सोही दिन फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ को सुविधा दिएर छाडेका थिए ।

बलात्कारको कसुरमा सोही जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको भएपनि अभियोगपत्रमै फरार देखाइएका प्रतिवादीलाई न्यायाधीश भट्टराराईले केही उल्लेख नगरी छाड्न आदेश दिएका थिए ।