बाजुरा, ११ असार – बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा
खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया संगिता साउद रहेकी छन् ।
हिजो (आइतबार) खप्तड छेडेदह गाउँपालिका –३ र ४ मा रहेको झिगिने बार्जुगाड खोला तर्ने बेलामा उनलाई खोलाले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराको अनुसार आमा छोरी खोला पार गर्नेक्रममा ९ बर्षीया छोरी बग्न थालेपछि छोरीलाई बचाउने क्रममा संगितालाई खोलाले बगाएको हो। छोरी सकुशल रहेएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीका अनुसार प्रहरीले उक्त खोलामा खोजतलास गर्ने क्रममा बगेको स्थानबाट झण्डै १५ देखि २० मिटर तल संगितालाई मृत अवस्थामा फेला पारेको थियो ।
