जलहरी विवादमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

११ असार २०८०, सोमबार १२:२४

काठमाण्डौ, ११ असार– पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।

आइतबार टोलीले तौल गर्दा जलहरीको १०६।४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १।०३७५ किलो भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने भएको छ ।

ती अधिकृतका अनुसार बाहिर हल्ला चलेजस्तो ठुलो परिमाणमा सुनमा अनियमितता भएको भने होइन । तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने बताएका थिए ।

सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।

जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै एक प्रतिशत चाँदी मिसाइएको कोषले जानकारी दिएको छ ।