काठमाण्डौ, ११ असार। सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई दस लाख रुपैया क्षतिपूर्ति दिन सरकारसँग माग राखेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट दुई लाख क्षतिपूर्ति दिने गरेतापनि त्यो रकम ज्यादै कम भएको बताएका थिए ।
विदेश जान छोडेर खेती किसानी गर्ने किसानहरू र सर्वसाधारणहरु र्चट्याङबाट बढी मर्ने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए । ‘दाङमा मात्रै केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो’, गिरीले भने, ‘रामनारायण चौधरी र समीर केसीको मृत्यु भयो, रुपा राना घाइते छन् ।’
त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गएको बताए । ‘तर सरकारले दिने गरेको रकम दुई लाख रुपैयाँ यो एउटा नाम मात्रको छ । म चट्याङबाट निधन भएका परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु ।’ उनले भने
