पशुपतिमा जलहरीको तौल लिन पुग्यो अख्तियार टोली

१० असार २०८०, आईतवार १७:१५

काठमाण्डौ, १० असार– पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

आज (आइतबार) अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिने अख्तियार स्रोतले जानकारी दिएको छ । दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम गरीएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको बताइएको छ ।

तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ ।

जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ हिनामिना भएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।